images
images
  • ‘जेनजी’ आन्दोलनमा दुई समूह सक्रिय रहेको मानवअधिकार आयोगको निष्कर्ष

    काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनमा दुई फरक समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

    आयोगले आन्दोलनमा भएको मानवअधिकार हननबारे तयार पारेको प्रतिवेदनमा एउटा समूह शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको र अर्को समूह आन्दोलनलाई विध्वंसात्मक बनाउने तयारीमा रहेको उल्लेख गरेको हो ।

    प्रतिवेदनअनुसार सामाजिक सञ्जालमा साझा भएका सामग्री, सञ्चारमाध्यमका विवरण र बयानहरूको विश्लेषणबाट आन्दोलनलाई हिंसात्मक बनाउने उद्देश्यसहित केही समूह सक्रिय रहेको पुष्टि भएको आयोगले जनाएको छ।

    आयोगले विभिन्न बुद्धिजीवी, मानवअधिकारकर्मी, चलचित्रकर्मी, सामाजिक सञ्जाल इन्फ्लुएन्सर, युट्युबर तथा अनलाइन व्यवसायीहरूले प्रदर्शनलाई सामान्य रूपमा समर्थन गरेको उल्लेख गरेको छ। त्यसैगरी केही व्यक्तिहरूले विद्यालयका डिजिटल बोर्ड र वेबसाइट ह्याक गरी ‘नो मो स्क्रिन्स’, ‘वी आर अन स्ट्रिट’ लगायतका नारासहित प्रदर्शनलाई उग्र बनाउने प्रयास गरेको प्रतिवेदनमा उल्लेख छ।

    आयोगका अनुसार ‘वेक अप नेपाल’ नामक टिकटक अकाउन्टमार्फत आन्दोलनअघि नै पेट्रोलबम (मोलोटोभ ककटेल) तयार गरेर प्रदर्शनमा आउन आह्वान गरिएको थियो। संसद् भवन, सिंहदरबारलगायत संरचना जलाइएको वा ध्वस्त पारिएको एआई–निर्मित फोटो तथा भिडियोहरू पनि प्रदर्शनअघि सामाजिक सञ्जालमा फैलाइएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। आयोगले आन्दोलनलाई शान्तिपूर्णबाट हिंसात्मक बनाउने योजनामा अर्को समूह सक्रिय रहेको देखिएको निष्कर्ष निकालेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images