काठमाडौं– नख्खु कारागारबाट कैदीबन्दी भगाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले रास्वपाका सांसदद्वय मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगको प्रतिवेदनअनुसार रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्ने प्रक्रिया र त्यसपछिका घटनाक्रममा उनीहरूको भूमिका शंकास्पद देखिएकाले अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा कारागार प्रशासक सत्यराज जोशी र रवि लामिछानेको बयान एक–अर्कासँग बाझिएको पनि उल्लेख छ ।
जेलर जोशीले आफू दबाब र धम्कीका कारण हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् भने लामिछानेले जेल प्रशासनकै आग्रहमा बाहिरिएको दाबी गरेका छन् ।
आयोगका अनुसार घटनामा १३ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट बाहिरिएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
आयोगले यस घटनाले नागरिकको सुरक्षा र मानव अधिकारमा गम्भीर असर परेको निष्कर्ष निकालेको छ ।