काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनसँग सम्बन्धित घटनामा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले भदौ २३ र २४ गते भएको प्रदर्शन, त्यसअघिका गतिविधि तथा सम्बन्धित व्यक्तिहरूले दिएका अभिव्यक्तिका कारण आन्दोलनमा दुरुत्साहन भएको वा नभएको विषयमा निष्कर्ष निकाल्न विस्तृत छानबिन आवश्यक रहेको जनाएको छ ।
आयोगका अनुसार ती व्यक्तिहरूको संलग्नताले प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भई सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको हो वा होइन भन्ने विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उल्लेख गरिएको छ । दोषी देखिए कानुनअनुसार कारबाही गर्न तथा अनुसन्धान प्रक्रियामा स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्न पनि आयोगले आग्रह गरेकाे छ ।






















