काठमाडौं– सर्ट भिडिओ प्लेटफर्म टिकटकले नेपालमा तिर्नुपर्ने करबारे आलटाल गरिरहेको खुलेको छ ।
चालू आर्थिक वर्ष ०८२/८३ मा हालसम्म टिकटकले एक रुपैयाँ पनि भ्याट तिरेको छैन ।
यसअघि आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा भने उसले कुल एक करोड ३६ लाख रुपैयाँ भ्याट तिरेको थियो ।
ठूला करदाता कार्यालयले फागुनदेखि नै भ्याट दाखिलाबारे ताकेता गरिरहे पनि टिकटकले स्पष्ट जवाफ दिएको छैन ।
टिकटकका प्रतिनिधिले एप्पल र गुगलमार्फत भ्याट समेटिएको दाबी गरे पनि त्यसको आधिकारिक प्रमाण पेश नगरेको कार्यालयले जनाएको छ ।
नेपाल सरकारले ०८० कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
पछि विभिन्न सर्तसहित ०८१ भदौमा प्रतिबन्ध फुकुवा गरिएको थियो ।
महालेखा परीक्षकको ६३औँ प्रतिवेदनले पनि टिककलगायत १४ कम्पनीले कम विद्युतीय सेवा कर (डिएसटी) तिरेको औँल्याएको छ ।
थप छानबिन गरेर कर असुल गर्न महालेखाले सुझाव दिएको छ ।
हालसम्म मेटा, गुगल, नेटफ्लिक्स, अमेजनलगायत २१ अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा एक अर्ब १३ करोडभन्दा बढी भ्याट र ११ करोड ९३ लाख रुपैयाँ डिएसटी तिरेका छन् ।


विश्व खबर 




















