काठमाडौं– ब्राजिलका स्टार फरवार्ड नेइमार यस वर्षको विश्वकपका लागि राष्ट्रिय टोलीमा समावेश भएका छन्। लामो समय चोटका कारण बाहिर रहेका नेइमारको नाम प्रशिक्षक कार्लो आन्चेलोट्टीले मंगलबार रियो दि जेनेरियोमा सार्वजनिक गरेको टोलीमा घोषणा गरेपछि उनी भावुक बनेका थिए।
टोलीमा नाम सुनेलगत्तै समर्थकहरूको उत्साहपूर्ण प्रतिक्रिया बीच नेइमार आफ्नी प्रेमिकासँगै रोएका थिए।
सन् २०२३ यता राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी हाल सान्तोष क्लबबाट खेलिरहेका छन्। फिटनेस सुधार र निरन्तर खेल प्रदर्शनका आधारमा उनलाई टोलीमा फर्काइएको प्रशिक्षक आन्चेलोट्टीले बताएका छन्।
नेइमारले यसअघि सन् २०१४, २०१८ र २०२२ को विश्वकप खेलेका थिए। १२८ खेलमा ७९ गोलसहित उनी ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्।
टोलीमा एलिसन बेकर, क्यासेमिरो, ब्रुनो गिमारेस, भिनिसियस जुनियर, राफिन्हा र १९ वर्षीय इन्ड्रिक जस्ता खेलाडी पनि समावेश छन्। तर यस सिजन उत्कृष्ट प्रदर्शन गरेका जाओ पेड्रो भने टोलीमा परेनन्।
ब्राजिलले गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड गरी समग्र सन्तुलित टोली घोषणा गरेको छ।


विश्व खबर 



















