काठमाडौं– नेपाली चिया निर्यातमा १९ दिनदेखि देखिँदै आएको अवरोध हटेको छ ।
भारतीय चिया बोर्डले नयाँ सूचना जारी गर्दै अनिवार्य परीक्षणसम्बन्धी नियममा संशोधन गरेपछि निर्यात पुनः सुचारु हुने बाटो खुलेको हो ।
मे १ देखि लागू भएको नियमअनुसार भारतका सबै नाकामा नेपाली चियाको हरेक खेप अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
परीक्षण रिपोर्ट आउन १० देखि १५ दिन लाग्ने भएकाले निर्यात पूर्ण रूपमा रोकिएको थियो, जसलाई व्यवसायीहरूले ‘अघोषित नाकाबन्दी’ भनेका थिए ।
नयाँ संशोधित प्रावधान अनुसार अब भारतको आन्तरिक बजारमा बिक्री हुने चियामा अनिवार्य परीक्षण हटाइएको छ र जोखिम व्यवस्थापन प्रणालीअनुसार मात्र नमुना जाँच (र्यान्डम टेस्ट) गरिनेछ ।
साथै, प्रयोगशालाले नमुना प्राप्त गरेको पाँच दिनभित्र रिपोर्ट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अवरोधका कारण चिया उद्योगमा चिन्ता बढे पनि ठूलो परिमाणमा माल ढुवानी नभएकाले तत्काल भन्सारमा जाम भने देखिएको थिएन ।
तर, कारखानामा लाखौँ किलो चिया थुप्रिएको र ढिलाइ भए किसानको भुक्तानी र गुणस्तर दुवैमा असर पर्ने जोखिम रहेको व्यवसायीहरूले बताएका छन् ।
नेपालबाट वार्षिक करिब ५–६ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुन्छ, जसमा झापा र इलामको चियाको मुख्य हिस्सा छ ।
अवरोध हटेसँगै करिब ३० हजार किसान र चिया उद्योगीहरूलाई राहत मिलेको छ ।


विश्व खबर 




















