काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त तारा मानन्धरले आज मिति २०८३ जेठ ०१ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार सीईओमा नियुक्त भएका मानन्धरले बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका छन्। यसअघि उनले विभिन्न वाणिज्य बैंकहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए भने पछिल्लो समय डिस मिडिया नेटवर्क लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए।
बैंकले मानन्धरको नेतृत्वमा संस्थागत सुशासन, रणनीतिक विकास तथा दिगो बैंकिङ अभ्यास अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। बैंकद्वारा जारी विज्ञप्तिमा उनको अनुभवले ग्राहक सेवा प्रवाह, आन्तरिक व्यवस्थापन र समग्र कार्यदक्षता सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारी मनोबल वृद्धि तथा सरोकारवालाको विश्वासलाई अझ मजबुत बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी वित्तीय सेवा विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरेको छ।
बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार नयाँ नेतृत्वले संस्थागत सुधार र सेवा विस्तारमा थप गति दिने विश्वास लिइएको छ।


विश्व खबर 




















