images
images
  • स्मार्ट टेलिकम सम्पत्ति प्रकरण : नियामकको भूमिकामाथि गम्भीर प्रश्न

    काठमाडौं– सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति बिक्री प्रक्रियामा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणकै संलग्नता र लापरबाहीबारे गम्भीर आशंका उठेको छ। आफ्नै नियन्त्रणमा रहेको कम्पनीको सम्पत्ति बेचबिखन भइरहँदा पनि प्राधिकरणले प्रभावकारी हस्तक्षेप नगरेको विषय अहिले विवादको केन्द्रमा छ।

    हालै सार्वजनिक विवरणअनुसार स्मार्ट टेलिकमको सम्पत्ति करिब ४ अर्ब ६० करोड रुपैयाँमा एनसेलले खरिद गरेको देखिन्छ। यो प्रक्रिया बैंकको ऋण असुली प्रक्रियाबाट सुरु भएको थियो, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २०८२ साउन २३ मा ऋणी सर्वेश जोशीको नाममा ३५ दिने सूचना जारी गरेको थियो।

    पछि कम्पनीका अध्यक्ष समेत रहेका जोशीले २०८२ भदौ २० मा सम्पत्ति लिलाम गर्न सहमति जनाएका थिए। त्यसपछि बैंकले असोज ३ मा सार्वजनिक सूचना जारी गर्दै १५ दिने लिलामी प्रक्रिया अघि बढायो। असोज २० मा बोलपत्र खोलिँदा एनसेलसहित तीन कम्पनीले प्रस्ताव पेस गरेका थिए।

    तर यही समयमा नियामक प्राधिकरणले भने कम्पनीको सम्पत्ति मूल्याङ्कनका लागि छुट्टै समिति गठन गरेको देखिन्छ। बोलपत्र खुल्ने भोलिपल्ट अर्थात् असोज २१ मा पाँच सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको थियो।

    समितिमा संयोजक राजेश पराजुली, मूल्याङ्कनकर्ता रोशन प्रधानाङ्ग, आईटी/टेलिकम विज्ञ नागेश दास, कानुनी तथा व्यवस्थापन विज्ञ प्रविन पराजुली र चार्टर्ड एकाउन्टेन्ट हरिकुमार सिलवाल सहभागी थिए। तर केही समयमै मूल्याङ्कनकर्ता प्रधानाङ्गले समय अभाव जनाउँदै राजीनामा दिएका थिए।

    यता बैंकले प्रक्रिया अघि बढाउँदै लैजाँदा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँमा सम्पत्ति खरिद गरिसकेको थियो। यसबीच प्राधिकरण भने प्रक्रियाबाट बेखबरजस्तै देखिएको आरोप छ।

    स्मार्ट टेलिकमको लाइसेन्स २०८० वैशाख ३ मा करिब ३० अर्ब रुपैयाँ राजस्व तथा शुल्क नतिरेपछि स्वतः रद्द भएको थियो। त्यसपछि सम्पूर्ण पूर्वाधार प्राधिकरणको नियन्त्रणमा आएको घोषणा गरिएको थियो। नियमअनुसार यस्तो अवस्थामा सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार समयमै मूल्याङ्कन समिति गठन र व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने थियो।

    तर करिब साढे दुई वर्षसम्म पूर्ण समिति गठन र प्रभावकारी मूल्याङ्कन हुन सकेन। यही बीचमा सम्पत्ति लिलामी भइसकेपछि मात्र प्राधिकरण सक्रिय देखिएको आरोप छ। आलोचकहरूका अनुसार यो ढिलाइले प्रक्रिया पारदर्शी नभएको संकेत गर्छ।

    प्राधिकरणले पछि मात्र औपचारिक रूपमा विभिन्न निकायलाई पत्राचार गरेको दाबी गरे पनि त्यसबेलासम्म सम्पत्ति बिक्री प्रक्रिया सम्पन्न भइसकेको थियो। केही सञ्चार माध्यमले पनि यस विषयमा प्रश्न उठाइसकेका थिए, तर नियामकले तत्काल हस्तक्षेप गरेन।

    पछि मूल्याङ्कन समितिमा रिक्त रहेका पदहरू पुनः भर्ने प्रक्रिया समेत अघि बढाइएको देखिन्छ, जसलाई कतिपयले “पहिले नै बिक्री भइसकेको सम्पत्तिको लागि ढिलो देखाइएको औपचारिकता” भनेर टिप्पणी गरेका छन्।

    यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाइसकेको छ। स्मार्ट टेलिकमका तत्कालीन अध्यक्ष सर्वेश जोशीसहित केही व्यक्ति पक्राउ परिसकेका छन्।

    तर नियामक निकाय प्राधिकरण र सम्बन्धित सरकारी संयन्त्रको भूमिकामाथि भने अझै गम्भीर प्रश्न उठिरहेका छन्। आफ्नै नियन्त्रणमा रहेको सम्पत्ति बिक्री हुँदासमेत समयमै रोकथाम वा कानुनी प्रक्रिया अघि नबढाउनु, र पछि मात्र औपचारिकता पूरा गर्न खोज्नुले नियामकको निष्क्रियता वा सम्भावित मिलेमतोबारे बहस चर्किएको छ।

    यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिलेसम्म छुट्टै छानबिन सुरु नगरेको विषय पनि आलोचनाको केन्द्रमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images