काठमाडौं– तीन सातादेखि भक्तपुरको गुन्डुस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय बेड रेस्टमै रहेर पनि विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट र संवादमा सक्रिय बनेका छन् ।
कांग्रेस सभापति गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरूले गुन्डु पुगेर ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
पछिल्लो साता कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा पनि ओली निवास पुगेका थिए ।
उनीहरूबीच संसद्मा विपक्षी रणनीति र समसामयिक राजनीतिक मुद्दाबारे छलफल भएको बताइएको छ ।
ओलीको सचिवालयका अनुसार पित्तथैलीको स्टोन र हर्नियाको शल्यक्रियापछि भएको संक्रमण सुधारोन्मुख छ ।
चिकित्सकको निगरानीमा रहेका ओली अहिले निवासमै सामान्य हिँडडुल र सीमित संवाद गर्न सक्ने अवस्थामा पुगेका छन् ।
उता एमालेभित्र भने पार्टी पुनर्गठन र आगामी रणनीतिबारे आन्तरिक छलफल तीव्र बनेको छ ।
नेताहरूले ओलीको पूर्ण स्वास्थ्यलाभपछि मात्रै औपचारिक राजनीतिक छलफल अघि बढाउने बताएका छन् ।
यसबीच एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई निराशाबाट मुक्त भई नयाँ संकल्पसहित अघि बढ्नुपर्ने बताएका छन् ।






















