काठमाडौं– काठमाडौंलाई तराई/मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजना ‘फास्ट ट्र्याक’ निर्धारित समयमै सम्पन्न नहुने लगभग निश्चित बनेपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई तत्काल कम्तीमा दुई लेन सञ्चालनयोग्य बनाउने विकल्प अघि सारेको छ ।
आयोगले दायाँ वा बायाँमध्ये एकतर्फ दुई लेन तयार गरी आगामी दुई वर्षभित्र सवारी सञ्चालन गर्न सकिने गरी काम अघि बढाउन सुझाव दिएको हो ।
द्रुतमार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद २०८३ चैत मसान्तसम्म रहेको छ ।
तर, हालसम्मको प्रगति, बाँकी संरचना र सुरुआती खण्डकै विवाद समाधान नभएकाले उक्त अवधिभित्र सम्पूर्ण आयोजना सम्पन्न हुने सम्भावना न्यून देखिएको सरकारी स्रोतहरू बताउँछन् ।
योजना आयोग स्रोतका अनुसार सरकारले तेस्रो पटक थप तीन वर्ष म्याद थप्ने तयारी गरिरहेको छ ।
यदि प्रस्ताव कार्यान्वयनमा गए निर्माण अवधि २०८६ चैतसम्म पुग्नेछ ।
यससँगै आयोजनाको लागत पनि उल्लेख्य रूपमा बढ्ने देखिएको छ ।
हालसम्म करिब ९५ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने थप म्याद र संरचना निर्माणसँगै लागत दुई खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले राज्यले ठूलो लगानी गरिसक्दा पनि जनताले प्रतिफल पाउन नसकेको भन्दै तत्काल सञ्चालनयोग्य मोडेलमा जानुपर्ने बताए ।
उनका अनुसार पूर्ण परियोजना सम्पन्न नहुन्जेल कम्तीमा दुई लेन सञ्चालनमा ल्याउन सके आर्थिक र यातायातीय लाभ देखिन थाल्नेछ ।
थापाले भौतिक पूर्वाधार मन्त्रालय र संसद्को पूर्वाधार उपसमितिमार्फत नेपाली सेनालाई यस्तो सुझाव दिइएको जानकारी दिए ।
उनका अनुसार आवश्यक प्राथमिकता दिए थप एक वर्षभित्रै दुई लेन सञ्चालनयोग्य बनाउन सकिने सम्भावना छ ।
हाल फास्ट ट्र्याकको कुल भौतिक प्रगति करिब ४६ प्रतिशत हाराहारीमा पुगेको भौतिक पूर्वाधार मन्त्रालय स्रोतले जनाएको छ ।
तर, ललितपुरको फर्सिडोलदेखि चोभारसम्मको सुरुआती खण्ड अझै ठेक्कामा जान सकेको छैन। यही खण्डलाई परियोजनाको सबैभन्दा जटिल भाग मानिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार सुरुआती बिन्दु र काठमाडौं उपत्यकासँगको कनेक्सन अझै स्पष्ट नभएकाले पनि परियोजनाको उपयोगितामाथि प्रश्न उठिरहेको छ ।
योजना आयोगका एक सदस्यका अनुसार प्रारम्भिक अवधारणामा फास्ट ट्र्याकलाई बाहिरी चक्रपथसँग जोड्ने सोच थियो ।
तर, बाहिरी चक्रपथ निर्माण अनिश्चित बनेपछि अब भित्री चक्रपथसँग जोड्नुपर्ने निष्कर्षमा सरकार पुगेको छ ।
उनका अनुसार बल्खु क्षेत्र फास्ट ट्र्याकलाई उपत्यकासँग जोड्ने सबैभन्दा उपयुक्त विकल्प हुन सक्छ ।
बल्खुदेखि बाग्मती नदीमाथि करिब साढे चार किलोमिटर लामो चार लेन पुल निर्माण गर्न सके मुआब्जा विवादसमेत कम हुने तर्क सरकारी अधिकारीहरूको छ ।
“तल बाग्मती बग्ने र माथिबाट पुलमार्फत फास्ट ट्र्याक जोड्ने मोडलमा काम गर्न सकियो भने उपत्यकाभित्रको ट्राफिक चाप व्यवस्थापनसँगै द्रुतमार्गको उपयोगिता पनि बढ्छ,” एक अधिकारीले भने ।
योजना आयोगले फास्ट ट्र्याकलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकाका मुख्य सडकसँग जोड्ने थप ४–५ वटा सहायक सडक निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।
काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले २०७४ वैशाख २१ गते पाएको थियो ।
सुरुमा चार वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
त्यसअनुसार २०७८ वैशाखसम्म निर्माण सकिनुपर्ने थियो ।
तर, विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न ढिलाइ भएको भन्दै पहिलो पटक २०८१ मंसिरसम्म म्याद थपियो ।
त्यसपछि पुनः दोस्रो पटक २०८३ चैतसम्म समय दिइएको थियो ।
हाल दोस्रो पटक थपिएको म्याद सकिन ११ महिना मात्र बाँकी रहँदा काम आधा पनि पूरा हुन सकेको छैन ।
यही कारण फेरि म्याद थप अनिवार्यजस्तै देखिएको छ ।
सुरुमा करिब ८५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको काठमाडौं–तराई/मधेस द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ ।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फैलिने यो मार्ग काठमाडौं, ललितपुर, मकवानपुर हुँदै तराईलाई जोड्ने रणनीतिक परियोजनाका रूपमा हेरिएको छ ।






















