काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले लामो क्रान्तिको उपलब्धिमाथि गर्व गर्ने तर केही व्यक्तिहरू त्यही क्रान्तिलाई आपराधीकरण गर्ने प्रयत्न गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
उनले भने, “मैले तपाईँहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरूको जिम्मेवारी हो ।”
नयाँ संसद्लाई आफूले क्रान्तिकै निरन्तरता ठानेको उल्लेख गर्दै संयोजक दाहालले भने, “वालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जीत हो ।”
पुराना पार्टीहरू सबै खराब हुन् भन्ने भाष्य गलत भएको बताउँदै संयोजक दाहालले भने, “पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् भन्ने । त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन ।”






















