काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ ।
साथै, अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने अनुमान गरिएको छ ।
ललितपुरमा आयोजित कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईंले विभिन्न भेगअनुसार वर्षाको अवस्था फरक रहने जानकारी दिए ।
उनका अनुसार कर्णालीको दक्षिणी भाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेशको पूर्वी भाग र कोशीको दक्षिणी भागमा ५५ देखि ६५ प्रतिशतसम्म सरदरभन्दा कम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, कर्णाली र कोशीका उत्तरी भागमा सरदर वर्षा हुने अनुमान छ ।
सुदूरपश्चिमका अधिकांश भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा भने ४५ देखि ५५ प्रतिशतसम्म सरदरभन्दा बढी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।
यसैगरी, आगामी मनसुन अवधिमा देशभर तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।
मनसुन अवधि जेठ १८ देखि असोज १४ सम्म रहनेछ ।






















