काठमाडौं– प्रधानन्यायाधीश सिफारिसलाई लिएर उत्पन्न असन्तुष्टिका कारण सर्वोच्च अदालतको नियमित कार्य प्रभावित भएको छ ।
वरीयता मिचेर चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि न्यायाधीशहरूबीच असन्तुष्टि बढेको छ ।
सामान्यतः बिहान साढे ९ देखि पौने १० बजेसम्म सार्वजनिक हुने दैनिक पेसी सूची शुक्रबार ११ बजेसम्म पनि जारी हुन सकेन ।
स्रोतका अनुसार गोला प्रक्रिया मार्फत मुद्दा बाँडफाँड कार्यसमेत रोकिएको छ ।
सर्वोच्च प्रशासन र न्यायाधीशहरूबीच आन्तरिक छलफल जारी रहेकाले पेसी सूची सार्वजनिक हुन ढिलाइ भएको बताइएको छ ।
‘न्यायाधीशहरू गोला प्रक्रियामा सहभागी नभएसम्म पेसी निकाल्न सकिँदैन,’ एक कर्मचारीले बताए ।
वरीयता प्रणाली बेवास्ता गरिएको भन्दै यसलाई न्यायपालिकाको स्थापित परम्परामाथिको प्रहारका रूपमा पनि व्याख्या गरिएको छ ।
घटनाले सर्वोच्चको दैनिक कामकाजसँगै न्यायपालिका र राजनीतिक नेतृत्वबीचको सम्बन्धमा समेत बहस चर्काएको छ ।






















