काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेशमार्फत गरेका निर्णय र हालै गरिएको प्रधानन्यायाधीश नियुक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
उनले संसदलाई छलेर राष्ट्र प्रमुखलाई दबाब दिई अध्यादेश जारी गरिनु लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाएका छन् ।
राईका अनुसार यस प्रकारको अभ्यासले संवैधानिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
वरियताको आधार मिचेर चौथो वरियताका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै उनले उक्त निर्णयलाई सरकारको गम्भीर त्रुटि भनेका छन् ।
उनले यस कदमले न्यायिक स्वतन्त्रतामाथि राजनीतिक प्रभाव परेको आशंका व्यक्त गरेका छन् ।
राईले विज्ञप्तिमा सहकारी ठगी प्रकरण, भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ लगायतका संवेदनशील मुद्दामा प्रभाव पार्ने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुन सक्ने दाबी गरेका छन् ।
त्यस्तै संवैधानिक परिषद बैठकका क्रममा एमसीसी, एसपीपी जस्ता विषयसमेत उठाएर दबाब सिर्जना गरिएको उनको आरोप छ ।
उनले आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुखले समेत वरियताको सिद्धान्त उल्लङ्घन हुने निर्णयमा हस्ताक्षर गर्नु खेदजनक भएको टिप्पणी गरेका छन् ।
श्रम संस्कृति पार्टीले विधि मिचेर गरिने राजनीतिक निर्णयहरूको सधैं विरोध गर्ने जनाएको छ ।























