काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र वरीयता मिचेर गरिएको प्रधानन्यायाधीश नियुक्तिप्रति गम्भीर आपत्ति जनाएका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा उनले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाइनु सरकारको ठूलो गल्ती भएको टिप्पणी गरेका छन् ।
उनका अनुसार सुशासनको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि उल्लङ्घन गरेको छ र यसमा राजनीतिक तथा कानुनी स्वार्थ लुकेको आशंका छ ।
सहकारी ठगी प्रकरण र जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा प्रभाव पार्ने उद्देश्यले नियुक्ति गरिएको हुनसक्ने दाबी पनि उनले गरेका छन् ।
साम्पाङले एमसीसी र एसपीपी जस्ता विषय उठाएर बैठकमा दबाब सिर्जना गरिएको आरोपसमेत लगाएका छन् ।
साथै, वरीयता मिचिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीकी उपसभामुख रुबीकुमारी ठाकुरप्रति पनि असन्तुष्टि जनाएका छन् ।
उनले विधि मिच्ने प्रवृत्तिको आफ्नो पार्टीले सधैं विरोध गर्ने स्पष्ट पारेका छन् ।






















