काठमाडौं– केही हप्तादेखि अमेरिका–इरानबीचको युद्धविरामका कारण शान्त देखिएको मध्यपूर्व फेरि तनावपूर्ण बनेको छ ।
होर्मुज स्ट्रेट क्षेत्रमा भएको गोलीबारीपछि स्थिति पुनः चर्किएको हो ।
बिहीबार होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच गोली हानाहान भएको खबर सार्वजनिक भएपछि शुक्रबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो क्षेत्रमा इरानबाट हवाई आक्रमण भएको दाबी गरेको छ ।
यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनहरू वायु रक्षा प्रणालीले सफलतापूर्वक नष्ट गरेको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेख्दै विभिन्न क्षेत्रमा सुनिएको विस्फोटको आवाज रक्षा प्रणाली सक्रिय भएको कारण भएको जनाएको छ ।
साथै, नागरिकलाई शान्त रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले बिहीबार होर्मुज स्ट्रेटमा अमेरिकी जहाजहरूलाई लक्षित गरेपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको दाबी गरेका छन् ।
उनका अनुसार, तीन अमेरिकी विध्वंसक जहाज सुरक्षित रूपमा उक्त क्षेत्र पार गरेका थिए र इरानी आक्रमण प्रयास असफल बनाइएको थियो ।
उनले इरानी साना डुंगाहरू नष्ट गरिएको र प्रहार गरिएका मिसाइलहरू खसालिएको पनि बताएका छन् ।
यता इरानी सेनाले भने अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।
यसअघि फेब्रुअरी २८ मा इजरायल–अमेरिका संयुक्त हवाई आक्रमणपछि सुरु भएको तनाव केही हप्ताअघि युद्धविराममा पुगेको थियो ।
अप्रिल ८ देखि लागू भएको युद्धविरामले द्वन्द्व रोक्ने आशा जगाएको भए पनि पछिल्लो घटनाले मध्यपूर्व फेरि ठूलो युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढाएको छ ।


विश्व खबर 




















