काठमाडौं– अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ ।
अमेरिकाले इरानका सैन्य अखडामाथि पुनः हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी पक्षका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना जहाजमाथि इरानले गरेको आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको हो ।
यता इरानले भने आफ्नो तेल ट्यांकरमाथि पहिले आक्रमण भएपछि मात्रै मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने बताएका थिए ।
तर त्यसको केही समयपछि नै अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको खबर सार्वजनिक भएको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार ओमानको खाडीतर्फ गइरहेका अमेरिकी नौसैनिक जहाजमाथि इरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको हो ।
उता इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार अमेरिकाले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको इरानी तेल ट्यांकरमाथि आक्रमण गरेर सहमति तोडेको हो ।
इरानले त्यसको जवाफमा आफ्ना सशस्त्र बलले तत्काल कारबाही गरेको र अमेरिकी पक्षलाई ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।
यसैबीच ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको बताएका छन् ।
उनले गोलीबारी भए पनि युद्धविराम कायम रहेको दाबी गर्दै इरानलाई कुनै पनि हालतमा परमाणु हतियार राख्न नदिइने चेतावनी दोहोर्याए ।
पछिल्ला आक्रमणपछि अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौता जोखिममा परेको चिन्ता बढेको छ ।
ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हो ।
यहाँ तनाव बढेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनुका साथै मूल्यसमेत बढ्न थालेको छ ।


विश्व खबर 




















