काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् ।६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् । ४ असार, २०२७ सालमा पर्सामा जन्मिएका शर्मा ३ असार, २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्रको पुनर्स्थापनापछि कुनैपनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन् । ६ वर्षे कायकाल पूरा गर्दा उनी वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन् ।
नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् । उनी पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि अवकाश भएका थिए ।पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेलामा उनी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएका हुन् ।
डा.मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयसँगै नेपालको न्यायिक तथा संवैधानिक वृत्तमा नयाँ बहस सुरु भएको छ। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने स्थापित परम्परा तोडेर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई सिफारिस गरिएको यो पहिलो घटना हो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाल लाई पछि पार्दै शर्मालाई अगाडि ल्याइएको हो।
प्रधानमन्त्रीको तर्क: ‘परम्परा होइन, क्षमता र विज्ञता हेर्नुपर्छ’
संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री बालेन शाहले “प्रधानन्यायाधीश चयनमा केवल परम्परा हेरेर बस्न नहुने, न्याय सम्पादन क्षमता, विज्ञता र दीर्घकालीन नेतृत्व क्षमता पनि मूल्यांकन गर्नुपर्ने” तर्क गरेका थिए। प्रधानमन्त्रीको प्रस्तावमा परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे ले असहमति जनाएका छन्। उनीहरूले लिखित फरक मत दर्ता गर्दै “विधि, प्रक्रिया र न्यायालयको स्थापित परम्परा मिचिएको” आरोप लगाएका छन्। राष्ट्रिय सभा अध्यक्ष दाहालले “हठात् रूपमा प्रस्ताव ल्याइएको र पर्याप्त परामर्शबिनै निर्णय गरिएको” भन्दै सहमति जनाउन नसकिएको बताएका छन्।
न्यायपालिकाभित्र नयाँ शक्ति सन्तुलनको संकेत ?
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको परम्परा लामो समयदेखि कायम थियो। तर यसपटकको निर्णयले न्यायपालिकाभित्र “मेरिट बनाम वरिष्ठता” बहसलाई सतहमा ल्याएको छ। शर्मालाई सिफारिस गर्नु केवल नियुक्ति प्रक्रिया मात्रै नभई आगामी वर्षहरूमा सर्वोच्च अदालतको शक्ति संरचना, संवैधानिक व्याख्या र न्यायिक नेतृत्वको दिशासँग जोडिएको निर्णयका रूपमा पनि हेरिएको छ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका शर्मा संसदीय सुनुवाइबाट अनुमोदित भएमा करिब पूर्ण ६ वर्ष प्रधानन्यायाधीश रहनेछन्।४ असार २०२७ मा पर्सामा जन्मिएका उनी ३ असार २०९२ मा ६५ वर्ष पुग्नेछन्। त्यसअनुसार उनले वैशाख २०८९ सम्म प्रधानन्यायाधीशको कार्यकाल सम्हाल्न सक्नेछन्। प्रजातन्त्र पुनर्स्थापनापछि कुनै पनि प्रधानन्यायाधीशले पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्न नपाएको अवस्थामा शर्माको सम्भावित लामो कार्यकाललाई पनि विशेष चासोका साथ हेरिएको छ।
मनोज शर्मा ६ वर्ष प्रधानन्यायाधीश बन्न पाउँछन्, तर…
संवैधानिक परिषदको बैठकबाट विहीबार प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा उनले पूरै कार्यकाल अर्थात् २०८९ सालसम्म प्रधानन्यायाधीशको कुर्सीमा बस्न पाउने छन् ।
यसअघि ६५ वर्षे उमेर हदका कारण पूरै कार्यकाल काम गर्नै नपाई प्रधानन्यायाधीशहरु पदमुक्त हुने गरेको थिए । तर, शर्मा भने २०९२ साल असार १२ गते मात्रै ६५ वर्ष पुग्ने छन् । उनी २०२७ साल असार १२ गते जन्मेका हुन् ।
यदि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल बरियताका आधारमा क्रमशः प्रधानन्यायाधीश बनेको भए डा. शर्माले प्रधानन्यायाधीश नै नबनी २०९२ साल असार १२ गते अदालतबाट बाहिरिनुपर्ने हुन्थ्यो । किनभने, त्यसबेला फुयालले २०८८ साल भदौदेखि २०९२ साल असोजसम्म प्रधानन्यायाधीश चलाइरहेका हुने थिए ।
रोचक त के छ भने सर्वोच्च अदालतमा न्यायाधीशका रुपमा कायमै रहेमा न्यायाधीश हरि फुयाल अझै प्रधानन्यायाधीश बन्ने सम्भावना छ । २०८९ साल असार १२ पछि मनोज शर्माको ठाउँमा फुयालले प्रधानन्यायाधीश बन्न पाउँछन् ।
फुयालले २०८९ पछि २०९२ साल असोज १८ सम्म करिब ३ वर्ष प्रधानन्यायाधीश चलाए भने त्यसपछि पालो आउने छ डा. नहकुल सुवेदीको । डा.सुवेदी मनोज शर्मापछि पाँचौँ बरियताका न्यायाधीश हुन् । उनको ६५ वर्षे उमेर हद २०९३ साल असारमा मात्रै सकिने छ ।

अब मनोज प्रधानन्यायाधीश बनेको अवस्थामा सपना प्रधान मल्ल र कुमार रेग्मीले भने प्रधानन्याधीश नै नबनी बाहिरिनुपर्ने हुन्छ । अझै पनि न्यायाधीशका रुपमा पूरै कार्यकाल काम गरेको अवस्थामा सपनाको कार्यकाल २०८५ कात्तिक ३० गते सकिने छ । त्यसैगरी कुमार रेग्मीको कार्यकाल २०८८ साल भदौ ३० मा सकिने छ ।
प्रधानन्यायाधीशको योग्यतम् सूचीको छैठौं नम्बरमा रहेका तिलप्रसाद श्रेष्ठले भने आगामी भदौदेखि ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । तर, यहाँनेर केही गम्भीर प्रश्नहरु भने अनुत्तरित छन् । कनिष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि अब कायममुकायम न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशका रुपमा कामलाई निरन्तरता दिनेछिन् या राजीनामा दिनेछिन् ? त्यस्तै, बरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाल पदमा यथावत रहन्छन् या बाहिरिन्छन् ?
तीनजना बरिष्ठ न्यायाधीशहरु अदालतबाट एकसाथ बाहिरिए भने न्यायालयमा एउटा ठूलो भ्याकुम, नैराश्यता र सरकारको छायाँ पर्न सक्ने जोखिम छ ।
रास्वपाभित्र पनि मत विभाजित
प्रधानन्यायाधीश नियुक्तिको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि मत विभाजन देखिएको छ। पार्टी सभापति रवि लामिछाने निकट नेताहरू वरिष्ठताक्रमअनुसार सपना प्रधान मल्ललाई नै सिफारिस गर्नुपर्ने पक्षमा देखिएका छन्। तर प्रधानमन्त्री बालेन शाह भने “न्यायिक नेतृत्वमा नयाँ अभ्यास आवश्यक रहेको” तर्क गर्दै परम्परा तोड्नुपर्ने पक्षमा उभिएका छन्।
संवैधानिक परिषद्बाट सिफारिस भएपछि अब शर्माको नाम संसदीय सुनुवाइ समितिमा जानेछ। समितिले अनुमोदन गरेपछि मात्रै उनी औपचारिक रूपमा प्रधानन्यायाधीश नियुक्त हुनेछन्।तर यसपटकको सिफारिसले नियुक्ति विवाद मात्र होइन, नेपालको न्यायपालिकामा वरिष्ठता, योग्यता, राजनीतिक प्रभाव र संवैधानिक अभ्यासबीचको बहसलाई नयाँ चरणमा पुर्याएको छ।
को हुन् प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा ?
वकालत पृष्ठभूमिबाट आएका न्यायाधीश मनोजकुमार शर्मालाई संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्नेछन् । शर्मा संसदीय सुनुवाइ समितिबाट पनि अनुमोदन भएमा २०८९ वैशाखसम्म उनले सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् ।
२०७६ वैशाख ६ मा सर्वोच्च अदालत प्रवेश गरेका श्रेष्ठको जन्म २०२७ असार ४ गते पर्साको वीगञ्जमा भएको हो । शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बी.एल.र भारतको पुणे विश्वविद्यालयबाट एल.एल.एम. गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।कानुन व्यवसायी पृष्ठभूमिका शर्मा विभिन्न कम्पनी र संस्थाहरूको कानुनी सल्लाहकार भएर निर्वाह गरेका थिए । २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएका थिए । आफ्नो करियरको क्रममा, उनले नेपाल र विदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका थिए ।
शर्मा प्रधानन्यायाधीश हुँदा उनको कार्यकाल कायम रहँदासम्म सर्वोच्च अदालतका ११ जना न्यायाधीशको अवकाश हुनेछन् । उनको कार्यकाल अवधिभरमा सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, शान्तिसिंह थापा, शारंगा सुवेदी, मेघराज पोखरेल र श्रीकान्त पौडेलले अवकाश पाइसकेका हुनेछन् । शर्मा प्रधानन्यायाधीशका अवकाश हुँदा पनि न्यायाधीश हरि प्रसाद फुयाँलको कार्यकाल ३ वर्ष बाँकी रहनेछ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सर्वोच्च अदालतले नयाँ प्रधानन्यायाधीश पाउँदै छ । अहिलेको परिवर्तित पृष्ठभूमिमा रहेर न्यायालयमा देखिएका विकृति हटाउनुपर्ने चुनौती शर्मा सामु छ । प्रधानन्यायाधीशमा सिफारिस सँगै हाल वरिष्ठताको आधारमा रहेका न्यायाधीशहरूसँग सौहार्दपूर्ण काम गर्ने वातावरण बनाउने चुनौती शर्मालाई देखिन्छ ।
अहिले पनि सर्वोच्च अदालतमा २२ हजार बढी मुद्दा विचाराधीन छन् । पाँचदेखि ८ वर्षसम्मका मुद्दा अभियान फाँट खडा गरेर सुनुवाइ थाले पनि प्रभावकारी रूपमा फर्छ्योट हुन सकेको छैन । प्रधान न्यायधाीश बनेमा पूर्ण कार्यकालमा यसलाई पनि घटाउनुपर्ने चुनौती छ । त्यस्तै अदालतमा हुने खुद्रा घुस र ठुला बिचौलियाहरूको चलखेललाई उनले निस्तेज पार्न सक्नुपर्ने छ । मुद्दाको सुनुवाइमा हुने ढिलाइ, सहकर्मीलाई विश्वासमा लिएर मुद्दाको फर्छ्योट दरमा सुधारसँगै विवादरहित न्याय दिनुपर्ने चुनौती पनि उनमा छ । भ्रष्टाचार नियन्त्रणको काम भने सहज छैन । यसअघि आउने हरेक प्रधान न्यायाधीशले बिचौलिया नियन्त्रण गर्नेदेखि न्यायालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पाइन्छ । तर उनीहरूको प्रतिबद्धता अनुसार काम हुन सकेको छैन ।
नेपाल बार एसोसिएसन (कानुन व्यवसायीहरूको संस्था) र बेन्च (न्यायाधीशहरू) बिच बेलाबेलामा हुने टकरावले न्याय सम्पादनमा बाधा पुर्याउँछ । हालैका वर्षहरूमा न्याय परिषद् नियमावलीको संशोधन र न्यायाधीश नियुक्तिलाई लिएर बारले गर्ने आन्दोलन र विरोधलाई सम्बोधन गर्दै समन्वयकारी भूमिका खेल्नु प्रधानन्यायाधीशको दायित्व हो ।
अदालतले फैसला त गर्छ, तर त्यसको कार्यान्वयनको पक्ष निकै कमजोर छ । अर्बौँ रुपैयाँ जरिवाना उठ्न बाँकी छ भने हजारौँ वर्ष कैद भुक्तान हुन बाँकी छ । फैसला कार्यान्वयन निर्देशनालयलाई सक्रिय बनाएर फैसलाको प्रभावकारिता बढाउनु ठुलो चुनौती छ ।






















