काठमाडौं– नेपालमा टियर–४ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेन डेटा भोल्टले घोषणा गरेको छ ।
डिजिटल पूर्वाधारलाई सुदृढ गर्दै नेपाललाई दक्षिण एसियाकै डिजिटल हब बनाउने लक्ष्यसहित यो परियोजना अघि सारिएको हो ।
स्वदेशी उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले यो डेटा सेन्टर अत्याधुनिक अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गर्ने जनाएको छ ।
टियर–४ सर्टिफाइड संरचनाले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ, जसले बैंकिङ र टेलिकमजस्ता संवेदनशील सेवाका लागि उच्च विश्वसनीयता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं र वीरगन्जमा सञ्चालन हुने योजना रहेको यो परियोजना प्रारम्भमा २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गरिनेछ ।
कम्पनीले भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरेको जनाएको छ ।
साथै, नेपालमै डेटा सुरक्षित राख्दै विदेशी सर्भरमा निर्भरता घटाउने र साइबर सुरक्षा मजबुत बनाउने लक्ष्य लिइएको छ ।
भविष्यमा सर्भरदेखि स्मार्ट डिभाइस उत्पादनसम्म विस्तार गर्ने योजना रहेको यो परियोजना पूर्ण रूपमा जलविद्युतमा आधारित हुने र वातावरणमैत्री हुने कम्पनीले जनाएको छ ।




















