काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको विवाद समाधान गर्न सभापति गगन थापा सक्रिय रूपमा अघि बढेका छन् ।
सर्वोच्च अदालतबाट वैधता पाएको उक्त महाधिवेशनबाट नेतृत्व सम्हालेका थापाले असन्तुष्ट पक्षसँग संवादलाई तीव्र बनाउँदै ‘आइसब्रेक’ प्रयास सुरु गरेका हुन् ।
यस क्रममा थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला सँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
पछिल्लो भेटमा उपसभापति विश्वप्रकाश शर्मा समेत सहभागी थिए, जहाँ करिब डेढ घण्टा छलफल गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा सहमति खोजिएको बताइएको छ ।
खड्का र कोइरालाले नेतृत्वलाई स्पष्ट रोडम्यापसहित अगाडि आउन सुझाव दिएका छन् ।
उनीहरूले आंशिक होइन, पूर्ण एकताको खाका आवश्यक रहेको धारणा राख्दै अब निर्णयको जिम्मा सभापति र नेतृत्वमै रहेको संकेत गरेका छन् ।
थापाले भने सबै पक्षलाई मिलाएर अघि बढ्न आफू तयार रहेको बताउँदै मिलाउनुपर्ने विषयहरूको सूचीसहित प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
पार्टीभित्र गुटबन्दी अन्त्य गरी विधानभित्रै सहमति जुटाउने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।
सभापति थापासँगको भेटपछि नेता कोइरालाले पनि खड्का र अर्जुननरसिंह केसीसँग थप परामर्श गर्दै विवाद समाधानका सम्भावित उपायहरूबारे छलफल अघि बढाएका छन् ।






















