images
images
  • बालेनका लागि राज्यका रिक्त विभिन्न निकायमा आफ्ना मान्छे भर्ना गर्ने बाटो खुला

    काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश, २०८३ जारी गरेसँगै संवैधानिक निकायहरूमा नियुक्ति प्रक्रियाबारे नयाँ राजनीतिक विवाद सुरु भएको छ ।

    अध्यादेशअनुसार अब प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले परिषद्मा आवश्यक गणपूरक संख्या कम भए पनि निर्णय गर्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

    यसले प्रमुख संवैधानिक निकायहरू जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महालेखा परीक्षक, मानवअधिकार आयोग लगायत १४ निकायमा रिक्त पदहरू भर्न सरकारलाई सहज बनाएको छ ।

    संविधानविद्हरूले भने यो व्यवस्थालाई नियन्त्रण र सन्तुलन प्रणाली कमजोर बनाउने कदमका रूपमा व्याख्या गरेका छन् ।

    भीमार्जुन आचार्यका अनुसार, बैठकको वैधताका लागि ४ सदस्य आवश्यक भए पनि निर्णयका लागि सोभन्दा कम सदस्यले निर्णय गर्न सक्ने व्यवस्था असन्तुलित र असामान्य हो ।

    उनका अनुसार यसले अघिल्ला सरकारहरूकै शैली दोहोर्याएको देखिन्छ ।

    त्यस्तै संविधानविद् विपिन अधिकारीले पनि सरकारले बहुमतको आधारमा संवैधानिक संरचनालाई बलियो बनाउनुको सट्टा पुरानै अभ्यास दोहोर्याएको टिप्पणी गरेका छन् ।

    राष्ट्रपति कार्यालयका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार, सरकारलाई पुनर्विचारका लागि सुझाव दिइए पनि अन्ततः अध्यादेश जारी गर्नुपर्ने अवस्था आएको हो ।

    अध्यादेशपछि अब प्रधानमन्त्रीले राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा समेत संवैधानिक परिषद् बैठक सञ्चालन गर्न सक्ने सम्भावना बढेको छ, जसले राजनीतिक विवाद थप गहिरिने देखिएको छ ।

    यसबीच, विभिन्न संवैधानिक निकायहरू लामो समयदेखि रिक्त रहेकाले नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images