images
images
  • एनसेल–स्मार्ट प्रकरण : अनुसन्धानको भयले पूर्वमन्त्री जगदीश खरेल भागेर स्वीट्जरल्याण्ड पुगे

    काठमाडौं– सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौं मूल्य बराबरको सम्पत्ति बिक्री प्रकरणमा अनुसन्धान तीव्र बन्दै जाँदा तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल सुटुक्क स्वीट्जरल्याण्ड प्रस्थान गरेको खुलासा भएको छ ।

    यसैबीच, सोही प्रकरणमा जोडिएका कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेको छ ।

    जोशीमाथि करिब ७ अर्ब रुपैयाँ बराबरको आपराधिक विश्वासघात तथा हिनामिनाको आरोप लगाइएको छ ।

    ३० अर्बको बक्यौता र विवादित बिक्री

    स्मार्ट टेलिकमले झण्डै ३० अर्ब रुपैयाँ बराबरको राजस्व तथा शुल्क नतिरेपछि यसको लाइसेन्स २०८० वैशाख ३ गते स्वतः खारेज भएको थियो ।

    लाइसेन्स खारेजीसँगै कम्पनीका सम्पूर्ण पूर्वाधार र सम्पत्ति सरकारको स्वामित्वमा गइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले घोषणा गरेको थियो ।

    तर, त्यसपछि पनि ती सम्पत्तिहरूलाई प्रक्रिया मिलाएर एनसेल लाई ४ अर्ब ६० करोड रुपैयाँमा लिलाम बिक्री गरिएको आरोप छ ।

    कानुनी रूपमा यस्तो बिक्री रोक्नुपर्नेमा मन्त्रालय र नियामक निकाय मौन बसेको भन्दै प्रश्न उठेको छ ।

    मन्त्री खरेलमाथि मिलेमतोको आरोप

    अनुसन्धान स्रोतका अनुसार, तत्कालीन मन्त्री खरेलको मौन सहमति र सक्रिय भूमिकामा उक्त बिक्री प्रक्रिया अघि बढाइएको थियो ।

    स्रोतले दाबी गरेअनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले हस्तक्षेपमुक्त छानबिनका लागि निर्देशन दिएपछि खरेल देश बाहिरिएको आशंका गरिएको छ ।

    पछिल्लो समय प्रधानमन्त्रीले खरेललाई ‘संदिग्ध व्यक्ति’ मानेर भेटसमेत नदिएको जानकारी पनि बाहिरिएको छ ।

    कानुनविपरीत लिलाम प्रक्रिया

    अनुमतिपत्र खारेज भइसकेपछि कम्पनीले आफ्नो सम्पत्ति बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि बैंकमार्फत लिलाम प्रक्रिया अघि बढाइएको थियो ।

    उक्त लिलामीमा औपचारिक प्रतिस्पर्धा देखाउन अन्य कम्पनीहरूलाई सहभागी गराइएको भए पनि तिनीहरूको प्रस्ताव अत्यन्त न्यून राखिएको र एनसेलको प्रस्ताव अस्वाभाविक रूपमा उच्च भएको देखिएको छ ।

    यसले प्रक्रिया मिलेमतोमा गरिएको आशंका थप बलियो बनाएको छ ।

    नियामक, बैंक र निजी कम्पनीबीचको साठगाँठ

    प्रकरणमा भूपेन्द्र भण्डारी नेतृत्वको प्राधिकरण, बैंकिङ क्षेत्र तथा निजी कम्पनीहरूबीच समन्वयात्मक मिलेमतो रहेको आरोप लागेको छ ।

    वित्तीय विश्लेषकहरूका अनुसार, सरकारी बक्यौता असुल नगरी बैंक ऋण असुलीलाई प्राथमिकता दिइनु साथै सम्पत्तिको मूल्यांकन र बिक्री प्रक्रिया दुवैमा गम्भीर अनियमितता देखिएको छ ।

    अनुसन्धान दायरामा थप व्यक्ति पर्ने संकेत

    प्रकरणमा केवल जोशी मात्र होइन, दूरसञ्चार क्षेत्रका अन्य प्रभावशाली व्यक्तिहरू, बैंकका अधिकारीहरू तथा निजी कम्पनीका सञ्चालकहरू समेत अनुसन्धानको दायरामा आउने संकेत देखिएको छ ।

    एक पूर्व अनुसन्धान अधिकारीका अनुसार, यो प्रकरण संगठित अपराध र भ्रष्टाचार दुवै अन्तर्गत छानबिन हुनुपर्ने प्रकृतिको छ ।

    सरकारको स्वामित्वमा आइसकेको सम्पत्ति कानुनी व्यवस्थाविपरीत बिक्री भएको, नियामक निकाय निष्क्रिय देखिएको र उच्च राजनीतिक तहको संलग्नता आशंकित भएको यस प्रकरणले नेपालमा सार्वजनिक सम्पत्ति व्यवस्थापन र नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

    अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा पूर्वमन्त्री खरेलको विदेश प्रस्थानले प्रकरण अझ पेचिलो बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images