images
images
  • सरकारले सुकुम्बासीमाथि ‘डोजर आतंक’ मच्चायो : भीष्मराज आङदेम्बे

    काठमाडाैं- नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै विरोध गरेका छन् ।

    पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यताविपरीत रहेको बताएका हुन् । नेता आङदेम्बेले सुकुम्वासी बस्ती हटाउने नाममा राज्यले जनतालाई मर्न बाध्य पारेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    वास्तविक सुकुम्बासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनले उल्लेख गरे। राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिँदै उहाँले यसको जिम्मेवार सरकार नै हुनुपर्ने बताए।

    नेता आङदेम्बेले सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्ति गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनियत’ प्रष्ट भएको टिप्पणी गरेका छन् ।

    संसद अधिवेशनको मिति पटक–पटक सार्ने र हठात आह्वान गर्ने कार्यले जनभावनाको अपमान गरेको उनको ठहर छ । सरकारका जनविरोधी निर्णयका विरुद्ध संसदमा रहेका अन्य विपक्षी दलहरूसँग पनि समन्वय भइरहेको नेता आङदेम्बेले जानकारी दिएका छन् ।

    मुद्दाका आधारमा विपक्षी दलहरू एकै ठाउँमा आउने पहल भइरहेको र संसदमा सामूहिक रूपमा सरकारको कार्यशैलीको प्रतिवाद गरिने उनले बताए । संसदीय समन्वय बोर्डको अभ्यासका विषयमा प्रष्ट पार्दै उहाँले पार्टीले यसअघि गरेका निर्णयहरूको कार्यान्वयन र आगामी संसदीय रणनीतिबारे बोर्डमा घनीभूत छलफल भएको जानकारी समेत दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images