काठमाडौँ- प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका नेता हर्कराज राईले सरकारलाई विभिन्न राष्ट्रिय तथा जनजीविकासम्बन्धी विषय उठाउँदै खुला पत्र सार्वजनिक गरेका छन् ।
सांसद राईले “संसद् छलेर चल्ने सरकार ज्यू” सम्बोधन गर्दै नेपालको भूमि लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो खोल्दा सरकार गम्भीर बन्न नसकेको प्रश्न उठाएका छन् ।
उनले सीमामा सेना परिचालन गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै कूटनीतिक नोट मात्र पठाएर औपचारिकता पूरा गरिएको आरोप लगाएका छन् । पत्रमा चीन, भारत, नेपाल र संयुक्त राष्ट्रसंघबीच वार्ता गरी सीमा समस्याको समाधान खोज्नुपर्ने सुझाव दिइएको छ । उनले मन्त्रीहरूको व्यक्तिगत सुरक्षा होइन, सीमाको सुरक्षा प्राथमिक हुनुपर्ने उल्लेख गर्दै सीमामा सेना परिचालन गर्न माग गरेका छन् ।
साथै, सुकुम्बासी बस्ती हटाउने क्रममा प्रयोग गरिएको डोजर अभियानप्रति असन्तुष्टि जनाउँदै उनले विपद् व्यवस्थापन र वैकल्पिक व्यवस्था नगरी बस्ती भत्काउनु उचित नभएको बताएका छन् । देशको अर्थतन्त्र सुधार गर्न नसक्ने भए सरकार सञ्चालन गर्न नसकिने भन्दै उनले जिम्मेवार ढङ्गले काम गर्न आग्रह गरेका छन् । बजेट निर्माणका क्रममा जनताको समस्या र सेवा–सुविधालाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन् ।























