भक्तपुर । बागमती प्रदेश सरकारले सुकुम्बासीका लागि स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरले प्रादेशिक अस्पताल र ख्वप नगरपालिका अस्पतालको सहयोगमा आइतबार र सोमबार शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य परीक्षणका क्रममा विस्थापितहरूमा मानसिक तनावका लक्षण देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । केहीमा चिन्ता, अनिद्रा, शरीर काम्ने र झट्का लाग्ने समस्या देखिएको छ भने केहीमा श्वासप्रश्वासमा कठिनाइ पाइएको छ । उच्च रक्तचाप र मुटुरोगका बिरामीसमेत पहिचान भएका छन् ।
खरिपाटीस्थित केन्द्रमा एक जनामा मदिरा सेवन अचानक छोड्दा देखिने गम्भीर समस्या र एक जनामा मस्तिष्कघात देखिएको छ । बोडे केन्द्रमा गर्भवती, सुत्केरी र साना बालबालिका भेटिएका छन्, जसमा पोषण र हेरचाहको अभाव देखिएको छ ।
सरसफाइ अभावका कारण अधिकांशमा आँखासम्बन्धी समस्या देखिएको जनाइएको छ । शिविरमा निःशुल्क औषधि, स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । गम्भीर बिरामीलाई प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने जनाइएको छ ।
हाल खरिपाटी केन्द्रमा १६८ र बोडे केन्द्रमा ४७ जना विस्थापित सुकुम्बासी राखिएका छन् । सरकारले काठमाडौं उपत्यकाबाट हटाइएका सुकुम्बासीका लागि भक्तपुरमा यी होल्डिङ सेन्टर स्थापना गरेको हो ।






















