हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती सभापति इन्द्रबहादुर बानियाँको घर र निर्माण कम्पनीमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि उनीमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ।
अवैध सम्पत्ति आर्जनसम्बन्धी उजुरीका आधारमा विभागले काठमाडौं र हेटौँडास्थित निवास तथा बानियाँ निर्माण सेवा (बिएनएस)को कार्यालयमा सोमबार छापा हानेको थियो। छापामारीका क्रममा केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको बताइएको छ।
घटनापछि प्रतिपक्षी दलहरू, नागरिक समाज तथा सामाजिक सञ्जालमा मुख्यमन्त्री बानियाँले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने आवाज तीव्र बनेको छ। सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता जनाउँदै आएको सरकारले आफ्नै नेतृत्वमाथि अनुसन्धान भइरहेका बेला पदमा बसिरहन नमिल्ने तर्क उठाइएको छ।
राजनीतिक वृत्तमा समेत यस घटनाले तरंग सिर्जना गरेको छ। कांग्रेसभित्रै पनि यस विषयले असहजता बढाएको बताइन्छ। आगामी मन्त्रिपरिषद् हेरफेर र संसदीय समीकरणमा समेत यसको प्रभाव पर्न सक्ने आकलन गरिएको छ।
मुख्यमन्त्री बानियाँले भने आफू कानुनी दायराभित्र हुने हरेक अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्। उनले आफू सुशासन र पारदर्शिताको पक्षमा रहेको दाबी गर्दै पूर्वसूचनाविना गरिएको छापामारीप्रति असन्तुष्टि जनाएका छन्।
‘राज्यका निकायले बोलाउँदा उपस्थित हुने अवस्था हुँदाहुँदै अकस्मात गरिएको छापामारीप्रति मेरो आपत्ति छ,’ उनले प्रतिक्रिया दिएका छन्।
यद्यपि, सार्वजनिक पदमा रहेका व्यक्तिमाथि यस्तो प्रकृतिको अनुसन्धान हुँदा नैतिक जिम्मेवारीसहित पदबाट अलग हुनुपर्ने बहस अझ चर्किंदै गएको छ।






















