काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्रसम्बन्धी मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । प्रहरीले उनलाई बिमा ऐनसम्बन्धी कसुरमा हिरासतबाट निस्कनासाथ पुनः नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो का अनुसार गोल्छालाई अर्को मुद्दामा अनुसन्धान आवश्यक भएकाले पुनः पक्राउ गरिएको हो । यसअघि सर्वोच्च अदालत ले उनलाई धरौटी वा जमानतमा छोड्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धरौटी वा जमानत माग नगरी हिरासतमा राखिएको प्रक्रिया त्रुटिपूर्ण ठहर गर्दै आवश्यक परे मात्रै थुनामा राख्न सकिने आदेश दिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौँले वैशाख ११ गते धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । तर सर्वोच्चले कानुनी प्रक्रिया नअपनाई थुनामा राखिएको भन्दै सुधारात्मक आदेश दिएको छ ।
गोल्छा विरुद्धका दुवै मुद्दामा अहिले प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।






















