images
images
  • व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ।

    सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।

    अदालतले कानुनी व्यवस्था अनुसार धरौटी वा जमानत नमागी हिरासतमा राख्न अनुमति दिइएको भन्दै वैशाख ११ र २१ का निर्णयहरू उत्प्रेषणको आदेशमार्फत बदर गरेको छ। यससँगै जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दिएको हिरासत अनुमति पनि खारेज भएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला अदालतबाट म्याद थप गरी गोल्छालाई हिरासतमा राखेको थियो। तर सर्वोच्चले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ अनुसार पहिले धरौटी वा जमानत माग्नुपर्ने र सो उपलब्ध नभए मात्र हिरासतमा राख्न मिल्ने स्पष्ट गरेको छ।

    अदालतले गोल्छा फरार हुने अवस्था नरहेको ठहर गर्दै उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अब उनले धरौटी बुझाउन नसके मात्र थुनामा राख्न सकिनेछ।

    गोल्छा पक्राउ परेपछि उनकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा गैरकानुनी थुनाबाट रिहा गर्न माग गरिएको भए पनि सर्वोच्चले रिट खारेज गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images