हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागद्वारा छापा मारिएपछि अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।
सोमबार जारी विज्ञप्तिमा उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको स्वीकारेका छन्।
मुख्यमन्त्री बानियाँले आफू पदमा आएपछि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन्।
बागमती प्रदेश सरकारको खर्च कटौती, मितव्ययिता र योजना तथा बजेटमा पारदर्शिता कायम गर्ने नीति अघि बढाइएको उनले बताएका छन्। उनले राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानलाई सकारात्मक रूपमा लिने उल्लेख गर्दै संवैधानिक र कानुनी दायराभित्र हुने सबै छानबिनमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेका छन् । पूर्व जानकारीबिना गरिएको छापा मारिएकोप्रति आपत्ति जनाउँदै उनले यसबाट आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमा असर परेको महसुस भएको बताएका छन्।






















