काठमाडौं– साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३४.६३ अंकले घट्दै नेप्से २७०४ अंकमा झरेको छ। कारोबार सुरु भएपछिका केही मिनेटमा वृद्धि देखिए पनि त्यसपछि बजार लगातार ओरालो लागेको हो।
लगातार चौथो दिन बजार घटेको हो। यसअघि मंगलबार २६ अंक, बुधबार २५ अंक र बिहीबार ५ अंकले गिरावट आएको थियो भने शुक्रबार बजार बन्द थियो।
आज कारोबार रकम पनि घटेर ४ अर्ब २६ करोडमा सीमित भयो, अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएको थियो। २७ कम्पनीको मूल्य बढ्दा २४० कम्पनी घटे भने २ स्थिर रहे।
माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक रातो रहे। जलविद्युत, विकास बैंक र उत्पादन समूह २ प्रतिशतभन्दा बढीले घटे।
सबैभन्दा धेरै वृद्धि फरवार्ड माइक्रोफाइनान्सको १५ प्रतिशत रह्यो भने झापा इनर्जी ७.९९ प्रतिशतले बढ्यो। सबैभन्दा धेरै गिरावट कर्पोरेट डेभलपमेन्ट बैंकको १२.५८ प्रतिशत रह्यो।
सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक रहेका छन्।


विश्व खबर 




















