images
images
  • गगन थापाकै कारण कांग्रेस फुटको संघारमा : देउवा पक्षसँग सहमति न संवाद

    काठमाडौं– नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद समाधानतर्फ उन्मुख हुने संकेत नदेखिँदा पार्टी अहिले अनिर्णयको अवस्थामै अड्किएको छ ।

    सर्वोच्च अदालतले आधिकारिकताको विवाद टुंग्याएको दुई साता बितिसक्दा पनि गुटगत टकराव भने उस्तै छ ।

    विशेष महाधिवेशनको विपक्षमा उभिएका पूर्णबहादुर खड्का र शेखर कोइराला नेतृत्वका समूहहरूले छुट्टाछुट्टै भेला र रणनीतिक छलफललाई निरन्तरता दिएका छन् ।

    उनीहरूले १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन सर्त अघि सारेका छन् ।

    तर, ‘जरा अभियान’ अन्तर्गत भइरहेको सदस्यता अद्यावधिक प्रक्रियालाई उनीहरूले अस्वीकार गरेका छन् ।

    उता संस्थापन पक्ष भने देशभर प्रतिनिधि खटाएर सदस्यता अद्यावधिक अभियानलाई तीव्र बनाइरहेको छ ।

    सभापति गगन थापाले ‘गाडी चढ्ने चढ्छन्, नचढ्ने छुट्छन्‌’ भन्ने सन्देश दिइसकेका छन् ।

    असन्तुष्ट पक्ष अझै पनि त्यो ‘गाडी’ मा चढ्न तयार देखिँदैन ।

    संसदीय दलको नेतृत्व चयनदेखि राष्ट्रिय सभा दलको नेतृत्व परिवर्तनसम्मका निर्णयहरूले असन्तुष्ट समूहको असन्तोष झन् गहिरिएको छ ।

    कृष्ण सिटौला लाई राष्ट्रिय सभा दलको नेताबाट हटाइएपछि खड्का पक्षको आक्रोश थप बढेको छ ।

    यद्यपि, असन्तुष्ट समूहभित्र नयाँ दल गठन गर्ने आवाज उठे पनि त्यसतर्फ ठोस पहल देखिएको छैन ।

    पार्टीभित्र विवाद चर्किए पनि विभाजनको औपचारिक प्रक्रिया अघि बढेको छैन ।

    एकातिर असन्तुष्ट पक्ष आफूलाई ‘किनाराकृत’ गरिएको आरोप लगाउँदैछ भने अर्कोतर्फ संस्थापन पक्ष ‘आउनु वा जानु’ को स्पष्ट सन्देश दिइरहेको छ ।

    खड्का पक्षका नेताहरू भने विभाजन रोक्ने जिम्मेवारी सभापति थापाकै भएको बताउँछन् ।

    उनीहरूले विगतमा सुशील कोइराला र शेरबहादुर देउवाले पार्टी फुट्न नदिएको उदाहरण दिँदै अहिले पनि त्यही भूमिका अपेक्षित रहेको बताएका छन् ।

    मध्यमार्गी धारको नेतृत्व गरिरहेका शेखर कोइराला समूहले पनि एकताको पहल नेतृत्वबाटै हुनुपर्ने धारणा राखेको छ ।

    उनीहरू विभाजन टार्न संवादलाई प्राथमिकता दिइरहेको बताउँछन् ।

    संस्थापन पक्ष भने आत्मविश्वासका साथ अघि बढिरहेको छ ।

    महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेले सदस्यता अद्यावधिक अभियान पार्टीलाई डिजिटल र व्यवस्थित बनाउने प्रयास भएको स्पष्ट पार्दै आएका छन् ।

    यसबीच, सुदूरपश्चिमका नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर—ले सदस्यता अद्यावधिक अस्वीकार गर्ने निर्णय गरिसकेका छन् ।

    यसले महाधिवेशन प्रक्रियामा ठूलो समूह बाहिरिन सक्ने संकेत देखिएको छ ।

    पार्टीभित्र शीर्ष तहमा तत्काल सहमति नभए विभाजनको जोखिम बढ्ने आकलन छ ।

    तर, हालसम्म न स्पष्ट रूपमा एकताको पहल देखिएको छ, न विभाजनतर्फ निर्णायक कदम। परिणामतः कांग्रेस अहिले यस्तो मोडमा उभिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images