काठमाडौं– सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरमार्फत प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमतामा सुधार ल्याउने उद्देश्यसहित उक्त ऋण र अनुदान स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी, बैठकले भारतसँग जीटूजी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद्ले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्दै संसद् भवन परिसरमा प्रवेश सम्बन्धी व्यवस्थासमेत समेटेको छ ।
साथै, संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय समेत गरिएको प्रवक्ता पोखरेलले बताए ।






















