images
images
  • हट्यो बोलपत्रको सूचना पत्रिकामा छाप्नुपर्ने बाध्यता, अब वेबसाइटमै पर्याप्त

    काठमाडौँ– सरकारले नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ मार्फत सार्वजनिक खरिद प्रक्रियामा महत्वपूर्ण सुधार गरेको छ।

    यस संशोधनसँगै अब बोलपत्र आह्वान गर्दा अनिवार्य रूपमा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने पुरानो व्यवस्था हटाइएको छ।

    सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४(१) मा रहेको उक्त बाध्यात्मक प्रावधानलाई संशोधन गर्दै अध्यादेशले नयाँ व्यवस्था लागू गरेको हो।

    अध्यादेशको दफा ७(१) अनुसार यदि बोलपत्र वा पूर्वयोग्यता निर्धारणको सूचना विद्युतीय खरिद प्रणाली (e-GP) मार्फत आह्वान गरिएको छ भने, त्यस्तो सूचना अन्य माध्यम जस्तै पत्रिकामा प्रकाशन गर्नुपर्ने आवश्यकता रहने छैन।

    यस परिवर्तनले सार्वजनिक निकायहरूलाई अनावश्यक विज्ञापन खर्चबाट राहत दिने अपेक्षा गरिएको छ।

    अब ठेक्का आह्वानका लागि लाखौँ रुपैयाँ खर्चेर पत्रिकामा सूचना छाप्नुपर्ने बाध्यता हटेको छ।

    अध्यादेशको दफा ७(२) ले दफा १४(२) लाई पूर्ण रूपमा प्रतिस्थापन गर्दै स्पष्ट व्यवस्था गरेको छ कि यदि विद्युतीय प्रणाली प्रयोग गरिएको छैन भने, सूचना अनिवार्य रूपमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख्नुपर्नेछ।

    साथै सम्बन्धित निकायको आफ्नै वेबसाइटमा, र वेबसाइट नभए सूचना पाटीमा समेत सूचना सार्वजनिक गर्नुपर्नेछ।

    परामर्श सेवा खरिदका लागि आशयपत्र माग गर्ने सन्दर्भमा पनि यही नियम लागू हुनेछ।

    अध्यादेशको दफा १२(१) ले ऐनको दफा ३०(१) मा संशोधन गर्दै e-GP मार्फत आशयपत्र आह्वान गरिएमा अन्य माध्यममा सूचना प्रकाशन गर्न नपर्ने व्यवस्था गरेको छ।

    त्यसैगरी, कम लागतका खरिदका लागि प्रयोग हुने सिलबन्दी दरभाउपत्र (Sealed Quotation) प्रक्रियामा पनि समयसीमा घटाइएको छ।

    अध्यादेशको दफा १४ अनुसार अब यस्तो सूचनाको न्यूनतम अवधि १५ दिनबाट घटाएर ७ दिन कायम गरिएको छ।

    यस अवस्थामा पनि विद्युतीय प्रणाली प्रयोग गरिएमा अन्य माध्यममा सूचना दिनु नपर्ने व्यवस्था गरिएको छ।

    यस संशोधनले सार्वजनिक खरिद प्रक्रियालाई थप डिजिटल, छरितो र लागत–प्रभावी बनाउने लक्ष्य राखेको सरकारको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images