काठमाडौँ । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ।
असम, केरल, पुडुचेरी, तामिलनाडु र पश्चिम बंगालमा भएको निर्वाचनको मतगणना बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।
यसपटक सबैभन्दा बढी चासो पश्चिम बंगालतर्फ केन्द्रित छ, जहाँ तृणमूल कांग्रेस र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। २९४ सिटमध्ये २९३ सिटको नतिजा आज सार्वजनिक हुनेछ भने बहुमतका लागि १४८ सिट आवश्यक पर्छ।
असममा १२६ सिटमध्ये ६४ सिट आवश्यक रहेकामा सत्तारुढ दलले पुनः जित्ने दाबी गरेको छ। केरलमा संयुक्त लोकतान्त्रिक मोर्चा र वाम लोकतान्त्रिक मोर्चाबीच प्रतिस्पर्धा देखिएको छ भने तामिलनाडुमा द्रविड मुनेत्र कडगम गठबन्धन अग्रस्थानमा रहने अनुमान गरिएको छ।
त्यस्तै, पुडुचेरीमा बहुमतका लागि १६ सिट आवश्यक रहेकामा अधिकांश अनुमानहरूले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनलाई अग्रता दिएका छन्।


विश्व खबर 




















