काठमाडौँ- सङ्घीय संसद् सचिवालयले सांसदहरूलाई पुनः स्वकीय सचिव (पिए) राख्न दिने विषयमा पहल थालेको छ। सचिवालयले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई पत्राचार गर्दै आवश्यक परे माग गर्न आग्रह गरेको जनाएको छ।
प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय छलफल र कार्यव्यवस्था परामर्श समितिको सिफारिसपछि सञ्चालन तथा व्यवस्थापन समितिले निर्णय गरी दलहरूलाई पत्र पठाइएको हो। स्वतन्त्र सांसद महावीर पुनलाई पनि छुट्टै पत्राचार गरिएको छ।
यसअघि खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको सरकारले सांसद तथा राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा हटाएको थियो। अब सांसदबाट माग आएपछि कानुन मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयपछि मात्र प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू हुनेछ।






















