काठमाडौं- लिपुलेक क्षेत्र हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको विषयमा नेपाल सरकारले आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक माध्यमबाट पत्र पठाएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल का अनुसार सरकारले सबै राजनीतिक दलहरूसँग परामर्श गरेर नेपालको आधिकारिक धारणा भारत र चीनलाई जानकारी गराएको हो।
परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालले लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको भनिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो स्पष्ट अडान र सरोकार दुवै देशसमक्ष पुनः राखेको उल्लेख छ।
सरकारले १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अभिन्न भू-भाग रहेको विषयमा आफू स्पष्ट र अडिग रहेको स्मरण गराएको छ।
यसअघि पनि उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापार तथा तीर्थाटनजस्ता गतिविधि नगर्न भारतलाई निरन्तर आग्रह गर्दै आएको नेपालले जनाएको छ। साथै, विवादित भूमिको विषयमा नेपालले विगतमा पनि भारत र चीन दुवैलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ।























