काठमाडौं उपत्यकामा बागमती र सहायक नदी किनारका साथै सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियान तीव्र बनाइएको छ ।
आइतबार सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा विभिन्न स्थानमा डोजर चलाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका ८० घरटहरा, अनामनगरस्थित धोबी खोला किनारका ६ घर र बालाजु–माछापोखरी क्षेत्रमा ७ संरचना भत्काइएको छ ।
उपत्यकाभर हालसम्म २ हजारभन्दा बढी संरचना हटाइसकिएको जनाइएको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि सुरु भएको अभियानअन्तर्गत प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको छ ।
भूमि व्यवस्था मन्त्रालयले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















