काठमाडौं– सरकारले ‘सम्पत्ति छानबिन आयोग, २०८३’ गठन गरी उच्च राजनीतिक, प्रशासनिक र सुरक्षा निकायका पदाधिकारीहरूको सम्पत्ति छानबिन सुरु गरेको छ ।
स्वदेशसँगै विदेशमा लुकाइएका शंकास्पद सम्पत्तिसमेत अनुसन्धानको दायरामा ल्याइनेछ ।
आयोगले ०६२/६३ पछि हालसम्मका पदाधिकारीको सम्पत्ति पहिलो चरणमा छानबिन गर्नेछ भने पुराना अवधिको अध्ययन दोस्रो चरणमा हुनेछ ।
पूर्वराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि उच्च कर्मचारी र बिचौलियासम्म आयोगको निगरानीमा पर्नेछन् ।
गोप्य रूपमा हुने अनुसन्धानमा अस्वाभाविक आर्थिक हैसियत, कर–राजस्व, भूमि र यातायातजस्ता क्षेत्रमा काम गर्ने व्यक्तिहरू प्राथमिकतामा छन् ।
आयोगले उजुरी संकलन, तथ्य प्रमाण विश्लेषण र आवश्यक परे अन्तर्राष्ट्रिय समन्वयसमेत गर्नेछ ।
छानबिनपछि स्रोत नखुलेको सम्पत्तिमाथि कारबाहीका लागि सरकारलाई सिफारिस गरिनेछ, जसमा सरकारले ४५ दिनभित्र प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।






















