विराटनगर- विराटनगर विमानस्थलबाट काठमाडौं उड्न लागेका दुई यात्रु स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भारतीय नागरिकसमेत रहेका छन्।
मोरङ प्रहरीका अनुसार शनिबार दिउँसो नियमित सुरक्षा जाँचका क्रममा भारतको माल्दा निवासी ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो। उनी श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका थिए।
यसअघि शुक्रबार राति धरान–१८ का ३५ वर्षीय दिलिप तामाङलाई पनि बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका बेला ११ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो।
दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। स्रोत नखुलेको ठूलो रकम भेटिएपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले ठूलो रकम बोकेर यात्रा गर्दा वैध स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै स्रोत पुष्टि नभए शंकास्पद मानिने जनाएको छ।























