images
images
  • अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित भयो किन ?

    काठमाडौं– अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने संकेत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ ।

    चिनियाँ प्रयोगशालाहरूलाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने योजनाले द्विपक्षीय व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भन्दै बेइजिङले प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    अमेरिकाको फेडरल कम्युनिकेसन कमिसन (एफसीसी)ले बिहीबार अघि बढाएको प्रस्तावले स्वीकृति पाए स्मार्टफोनदेखि क्यामेरासम्मका विभिन्न उपकरणहरू प्रभावित हुनेछन् ।

    एफसीसीका अनुसार हाल संयुक्त राज्य अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरणहरू चीनस्थित मान्यता प्राप्त प्रयोगशालाहरूमा परीक्षण गरिन्छन्, जसले यो प्रस्तावको प्रभाव व्यापक हुनसक्ने देखाउँछ ।

    यस निर्णयप्रति प्रतिक्रिया दिँदै चीनको वाणिज्य मन्त्रालयले यस्तो कदमले ‘अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार प्रणालीलाई गम्भीर रूपमा कमजोर बनाउने’ चेतावनी दिएको छ ।

    मन्त्रालयले यदि अमेरिका आफ्नो निर्णयमा अडिग रहे चीनले आफ्ना उद्यमहरूको वैध अधिकार र हित जोगाउन आवश्यक कदम चाल्ने स्पष्ट सङ्केत दिएको छ ।

    चीनले एफसीसीमाथि चिनियाँ कम्पनी र उत्पादनलाई लक्षित गर्दै बारम्बार प्रतिबन्धात्मक उपायहरू लागू गरेको आरोप पनि लगाएको छ ।

    यस्ता कदमहरूले दुई देशबीच कठिन प्रयासबाट कायम भएको व्यापारिक स्थिरता बिगार्ने र उच्चस्तरीय सहमतिविपरीत जाने मन्त्रालयको दाबी छ ।

    एफसीसीले भने आफ्नो प्रस्ताव ‘राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने’ उद्देश्यले ल्याइएको जनाएको छ ।

    यसअघि नै एजेन्सीले विदेशी विरोधीहरूको स्वामित्व वा नियन्त्रणमा रहेका परीक्षण प्रयोगशालाहरूलाई सीमित गर्ने नियम लागू गरिसकेको छ ।

    नयाँ प्रस्तावले अमेरिकाको पारस्परिक मान्यता वा समान व्यापार सम्झौता नभएका देशहरूमा रहेका प्रयोगशालाहरूको मान्यता हटाउने लक्ष्य राखेको छ ।

    एफसीसकीका अनुसार चीनसँग यस्तो कुनै सम्झौता छैन ।

    प्रस्ताव पारित भएमा चिनियाँ प्रयोगशालामा परीक्षण तथा प्रमाणीकरण भएका उपकरणहरूलाई दुई वर्षभित्र चरणबद्ध रूपमा अमेरिकी बजारबाट हटाइनेछ ।

    यो प्रस्तावले प्रविधि आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार अभ्यास र अमेरिका–चीन सम्बन्धमा नयाँ तनाव थप्ने संकेत दिएको छ ।

    विश्लेषकहरूले यसलाई व्यापार मात्र नभई रणनीतिक प्रतिस्पर्धाको अर्को चरणका रूपमा पनि व्याख्या गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images