काठमाडौं– नेकपा नेता भीम रावलले अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारी कदमप्रति टिप्पणी गर्दै छिटोको नाममा विधि, प्रक्रिया र संवैधानिक मान्यता मिच्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक हुने बताएका छन् ।
उनले संवैधानिक परिषद्सम्बन्धी व्यवस्था निष्पक्ष नियुक्तिका लागि गरिएको स्मरण गराउँदै विगतमा केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न खोज्दा व्यापक विरोध भएको उल्लेख गरे ।
रावलले अहिले झन्डै दुईतिहाइ बहुमत भएको सरकारले पनि त्यही बाटो पछ्याएको आरोप लगाउँदै संसद् छलेर अध्यादेश ल्याउनु संसदीय प्रणालीको मर्मविपरीत भएको बताए ।
उनका अनुसार कानुन निर्माण संसद्मा खुला छलफल र सार्वजनिक बहसबाट हुनुपर्छ ।
अध्यादेशमार्फत धमाधम शासन चलाउने अभ्यासले संविधान निर्माणका मूल मान्यतामाथि प्रहार गर्ने उनको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्






















