images
images
  • चिया भनेर रक्सी बेच्दै रुस्लानका मालिक राजबहादुर शाह, हुनसक्छ ६ महिना कैद

    काठमाडौं– जावलाखेल डिस्टिलरीले ‘आइस टी’को नाममा अल्कोहलिक पेय पदार्थ बजारमा बिक्री गरेको विषय सार्वजनिक भएपछि उपभोक्ता अधिकार र खाद्य सुरक्षा मापदण्डबारे गम्भीर प्रश्न उठेका छन् ।

    अल्कोहलिक पेय पदार्थ उत्पादनमा परिचित जावलाखेल डिस्टिलरीले ‘रेडी टु ड्रिंक (RDT)’ श्रेणीअन्तर्गत ‘रुस्लान पिच आइस टी’ र ‘रुस्लान लेमन आइस टी’ नामका उत्पादनमार्फत बजारमा करिब ५ प्रतिशत अल्कोहलयुक्त पेय बिक्री गरिरहेको आरोप लागेको छ ।

    २७५ एमएलको उक्त उत्पादन करिब २२५ रुपैयाँमा बिक्री भइरहेको बताइएको छ ।

    उपभोक्ता अधिकारकर्मीहरूले कम्पनीले ‘चिया’ वा ‘आइस टी’को सामान्य धारणा प्रयोग गरेर उपभोक्तालाई झुक्याउने गरी अल्कोहलयुक्त पेय बिक्री गरेको दाबी गरेका छन् ।

    उनीहरूका अनुसार चिया तथा आइस टी सामान्यतया गैर–अल्कोहलिक पेयका रूपमा बुझिने भएकाले यस्तो ब्रान्डिङले विशेषगरी युवा वर्गलाई भ्रमित पार्न सक्ने जोखिम रहेको छ ।

    जावलाखेल डिस्टिलरीले विभिन्न प्रकारका अल्कोहलिक उत्पादनहरू बजारमा ल्याउँदै आएको छ, जसमा रुस्लान भोड्का प्रमुख ब्रान्ड हो ।

    आलोचकहरूले कम्पनीले नयाँ उत्पादनमार्फत युवा उपभोक्तालाई लक्षित गर्दै बानी पार्ने रणनीति अपनाएको आरोप लगाएका छन् ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरूले भने प्याकेजिङ र लेबलिङ स्पष्ट हुनुपर्ने र उपभोक्तालाई भ्रममा पार्ने कुनै पनि अभ्यास कानुनविपरीत हुने बताएका छन् ।

    विभागका एक अधिकारीका अनुसार सामान्यतया ‘आइस टी’ गैर-अल्कोहलिक पेयको श्रेणीमा पर्छ, त्यसैले लेबलिङ र अनुमतिका आधारमा विषयको मूल्यांकन आवश्यक हुन्छ ।

    उपभोक्ता अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले यो अभ्यासलाई उपभोक्ता संरक्षण कानुनविपरीतको कार्य भएको दाबी गरेका छन् ।

    उनीहरूको भनाइमा, उत्पादनको नाम, प्याकेजिङ र दाबी उपभोक्तालाई गलत बुझाइ दिने खालको भएमा त्यसलाई भ्रामक विज्ञापन मानिन्छ ।

    कानुनी व्यवस्था अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ को दफा १७ मा कुनै पनि खाद्य पदार्थलाई झुक्याउने गरी बिक्री–वितरण गर्न नपाइने उल्लेख छ ।

    सो ऐनअनुसार गलत लेबलिङ वा भ्रामक विवरण प्रस्तुत गरेमा ६ महिना कैद, ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको बताइएको छ ।

    यस विषयमा कम्पनीको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

    आरोप र कानुनी व्याख्याबारे सम्बन्धित निकायले थप अध्ययन र अनुगमन गर्नुपर्ने माग उठिरहेको छ ।

    हाल यो विषय उपभोक्ता अधिकार, खाद्य सुरक्षा मापदण्ड र बजार नियमनको सन्दर्भमा बहसको केन्द्रमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images