images
images
  • रास्वपा सांसदहरूले नै लिए राज्यकोषबाट दोहोरो सुविधा, जनताको थाप्लोमा करोडौं ऋणको भार

    काठमाडौं– कानुन नबनेको अवस्थाको फाइदा उठाउँदै संघीय सांसददेखि संवैधानिक पदाधिकारीसम्मले राज्यकोषबाट दोहोरो सुविधा लिइरहेका छन् ।

    सामाजिक सुरक्षा कार्यविधिले स्पष्ट रूपमा दोहोरो सुविधा लिन नपाइने भने पनि कानुनी स्पष्टता नहुँदा अभ्यास रोकिएको छैन ।

    नवनिर्वाचित प्रतिनिधिसभाका केही सांसदहरू सरकारी सेवाबाट अवकाश पाइसकेका पेन्सनधारी हुन्, जसले सांसदको तलबसँगै नियमित पेन्सन पनि बुझिरहेका छन् ।

    संसद् सचिवालयका अनुसार यसपटकका कम्तीमा ६ जना सांसद पूर्व सरकारी सेवाबाट पेन्सन लिनेहरू हुन् ।

    उनीहरूले मासिक रूपमा सांसदको तलब तथा भत्ता र पूर्व सेवाको पेन्सन दुवै प्राप्त गरिरहेका छन् ।

    पूर्व उच्च प्रहरी अधिकारीदेखि बैंक तथा शिक्षण सेवाबाट अवकाश लिएका व्यक्तिहरू समेत संसदमा निर्वाचित भएपछि दोहोरो सुविधा लिइरहेका देखिन्छन् ।

    यद्यपि कानुन नबनेको कारण यस्तो अभ्यास रोक्न सकिएको छैन ।

    सरकारले विगतमा दोहोरो सुविधा रोक्ने निर्णय गरे पनि सर्वोच्च अदालतले कानुन बनाएर मात्र रोक्न सकिने आदेश दिएपछि प्रक्रिया अलपत्र परेको हो ।

    हालसम्म स्पष्ट कानुनी व्यवस्था नहुँदा उच्च पदस्थ पूर्व कर्मचारी तथा संवैधानिक पदाधिकारीहरू समेत राज्यकोषबाट दोहोरो लाभ लिन जारी छन् ।

    संसद सचिवालयका अनुसार सबै सांसदको तलब नियमित रूपमा वितरण भइरहेको छ र कसैले पनि पेन्सन नलिने औपचारिक निवेदन दिएको छैन ।

    त्यस्तै निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार पनि पेन्सन रोक्न कुनै आवेदन परेको छैन ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोहोरो सुविधा नियन्त्रणका लागि कानुनी मस्यौदा अझै तयार नभएको जनाएको छ ।

    यसबीच केही पूर्व प्रशासकहरूले भने नैतिकताका आधारमा दोहोरो सुविधा नलिई उदाहरण प्रस्तुत गरेका छन् ।

    तर, कानुनको अभावले प्रणालीगत समस्या ज्यूँकात्यूँ रहेको छ, जसले राज्यकोषमाथि अतिरिक्त आर्थिक भार थपिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images