काठमाडौं– संसद् अधिवेशन स्थगित गरी सरकारले एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राजनीतिक तथा कानुनी वृत्तमा तीव्र बहस सुरु भएको छ ।
जनताको प्रतिनिधिमूलक संस्था संसद् छलेर अध्यादेशमार्फत अघि बढेको भन्दै विपक्षी दलदेखि कानुनविद्हरूले आपत्ति जनाएका छन् ।
तर, सरकार पक्षले भने कामकाज छिटो र प्रभावकारी बनाउन अध्यादेश आवश्यक भएको दाबी गरेको छ ।
यस विषयमा बुधबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपासहितका विपक्षी दलहरूले सरकार र राष्ट्रपतिलाई अध्यादेश फिर्ता गरी संसद् अधिवेशन बोलाउन आग्रह गरेका छन् ।
विपक्षी दलहरूले बिहीबार पनि समसामयिक विषयमा छलफल जारी राख्ने भएका छन् ।
उता, राष्ट्रपति रामचन्द्र पौडेल भने अध्यादेशको विषयमा दोहोरो दबाबमा परेका छन् ।
संविधानविद्हरूका अनुसार परामर्श आवश्यक देखिएपछि राष्ट्रपति पौडेलले बिहीबार अपराह्न ४ बजे वरिष्ठ कानुनविद्हरूसँग छलफल गर्न लागेका छन् ।
सरकारले सार्वजनिक निकायमा पारदर्शी नियुक्ति, दलीयकरण अन्त्य, सार्वजनिक निर्माण तीव्रता, सहकारी पीडितलाई राहत तथा भूमि, मालपोत र नापी सेवामा सुधार ल्याउने उद्देश्यसहित अध्यादेश अघि बढाएको हो ।
यता, राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक व्याख्याका लागि वरिष्ठ कानुनविद्हरूलाई शीतल निवास बोलाइएको छ ।






















