काठमाडौं– मध्यपूर्वमा चर्किएको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ ।
हालै अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीपछि आपूर्ति अवरोध हुने आशंकाले बजारमा अस्थिरता देखिएको हो ।
पछिल्लो तथ्यांकअनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ अमेरिकी डलर पुगेको छ, जुन पछिल्लो चार वर्षयताकै उच्च स्तर हो ।
यसअघि सन् २०२२ मा रूस–युक्रेन युद्धको प्रारम्भिक चरणमा तेलको मूल्य करिब १३० डलरसम्म पुगेको थियो ।
द गार्जियनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका प्रमुख बन्दरगाहहरूमा नाकाबन्दी कायम राख्ने संकेत दिएपछि बजारमा थप दबाब सिर्जना भएको छ ।
यसैबीच, विश्वको अत्यन्त संवेदनशील तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज क्षेत्रमा असुरक्षा बढ्दै गएको छ । यस मार्गबाट ठूलो परिमाणमा कच्चा तेल ढुवानी हुने भएकाले कुनै पनि अवरोधले विश्वव्यापी आपूर्ति प्रणाली प्रभावित हुने जोखिम बढेको छ ।
विश्लेषकहरूका अनुसार तनाव लामो समयसम्म कायम रहे तेलको मूल्य अझै बढ्न सक्ने र त्यसको प्रत्यक्ष असर विश्वव्यापी महँगीमा देखिन सक्ने चेतावनी दिएका छन् ।
यता पाकिस्तानमा अमेरिका–इरानबीच तनाव घटाउने कूटनीतिक प्रयास भए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन ।


विश्व खबर 




















