काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानलाई आफ्नो आणविक कार्यक्रममाथि कडा नियन्त्रण गर्न चेतावनी दिएका छन्। अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानको अर्थतन्त्र दबाबमा परिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प इरानको शान्ति प्रस्तावप्रति सकारात्मक छैनन्। इरानले होर्मुज जलमार्ग खोल्ने, बन्दरगाह नाकाबन्दी हटाउने र आणविक कार्यक्रमबारे थप वार्ता गर्ने प्रस्ताव अघि सारे पनि त्यसलाई स्वीकार गर्ने संकेत देखिएको छैन।
‘वाल स्ट्रिट जर्नल’को रिपोर्टअनुसार ट्रम्पले इरानले पूर्ण रूपमा आणविक कार्यक्रम त्याग्न बाध्य नभएसम्म नाकाबन्दी जारी राख्ने नीति लिएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत इरानलाई “चाँडै स्मार्ट बन्न” आग्रह गरेका छन्।
इरानले तेल र ग्यास आपूर्तिका लागि महत्वपूर्ण होर्मुज जलमार्ग बन्द गरेपछि विश्व अर्थतन्त्रमा समेत दबाब परेको छ। यसैबीच, इरानी मुद्रा रियाल ऐतिहासिक रूपमा कमजोर बनेको छ भने सर्वसाधारणले आर्थिक संकट झन् गहिरिएको गुनासो गरेका छन्।


विश्व खबर 




















