काठमाडौँ- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता प्रविष्टिका लागि एक हप्ताको समय दिएको छ।
महामन्त्री प्रदीप पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले बुधबारदेखि लागू हुनेगरी ‘डिजिटल सिस्टम’मा सदस्यता नवीकरण तथा नयाँ सदस्यता इन्ट्री गर्न समय थप गर्ने निर्णय गरेको हो।
बैठकले १५औँ महाधिवेशनलाई लक्षित गर्दै जिल्ला र प्रतिनिधिसभा क्षेत्रबाट नवीकरण तथा नयाँ सदस्यताको विवरण शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाउने व्यवस्था मिलाएको छ। जनसम्पर्क समितिका लागि भने अनलाइन सदस्यता प्रणालीलाई निरन्तरता दिने निर्णय गरिएको छ।
यसैबीच, विभिन्न कारणले नवीकरण छुट भएका सदस्यका लागि पनि केन्द्रबाटै एक हप्ताभित्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। साथै, रिक्त रहेका वडा सभापतिका स्थानमा सदस्यता अद्यावधिक गर्न सम्बन्धित समितिले प्रतिनिधि तोक्न सक्ने प्रावधान समेत गरिएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सदस्यता व्यवस्थापनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न यो निर्णय गरिएको हो।






















