काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् ।
उनले सरकार र संसदको कार्यशैली सुधार, सेवामुखी राजनीति, नीति निर्माणमा सक्रियता र संगठनात्मक अनुशासनमा जोड दिएका छन् ।
उनका मुख्य निर्देशनहरूमा मन्त्रालयस्तरीय नियमित छलफल, “सेवक राजनीति” को अभ्यास, हेलो सरकारलाई प्रभावकारी बनाउने, सांसदको भूमिका कानून निर्माणमा केन्द्रित गर्ने र व्यक्तिगत मर्यादा कायम राख्ने विषय छन् ।
त्यस्तै उनले सुकुम्बासी व्यवस्थापनका लागि विशेष आयोग गठन गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने र कसैलाई घरबारविहीन हुन नदिने सरकारको प्रतिबद्धता दोहोर्याएका छन् ।
अध्यादेश, संवैधानिक नियुक्ति र प्रशासनिक सुधारलाई आवश्यक सुधारको प्रक्रिया भन्दै उनले कानुनी र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले सांसदहरूलाई सक्रिय, जिम्मेवार र संगठनप्रति प्रतिबद्ध रहन आग्रह गर्दै पार्टीभित्र नयाँ सदस्यहरूलाई मेहनत र प्रमाणका आधारमा अवसर दिइने स्पष्ट पारेका छन् ।






















