images
images
  • ठ्याक्कै ओली प्रवृत्ति बालेनमा हाबी : चौतर्फी विरोध हुँदाहुँदै थप अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले दुई दिनको अन्तरालमा पाँचवटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ ।

    सोमबार दुई र मंगलबार थप तीन अध्यादेश सिफारिस भएपछि संसदीय प्रक्रिया छलेको भन्दै राजनीतिक तथा कानुनी वृत्तमा आलोचना चुलिएको छ ।

    सोमबार संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश पठाइएको थियो भने मंगलबार राति स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन तथा विश्वविद्यालयसम्बन्धी तीन अध्यादेश थप पठाइएको स्रोतले जनाएको छ ।

    राष्ट्रपति कार्यालयका अनुसार सबै अध्यादेश अध्ययन प्रक्रियामा छन् ।

    सरकारले हालै मात्र संसद् अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गराएको थियो ।

    तर, अधिवेशन रोकिएको एक साताभित्रै अध्यादेशमार्फत कानुन संशोधन र नीतिगत निर्णय अघि बढाइएको भन्दै आलोचना बढेको हो ।

    सबैभन्दा विवादास्पद मानिएको ‘केही नेपाल कानुन संशोधन अध्यादेश’ मार्फत सरकारलाई विभिन्न कानुन संशोधन गर्ने व्यापक अधिकार दिइएको छ ।

    त्यस्तै विश्वविद्यालयसम्बन्धी अध्यादेशले स्ववियु संरचनामा परिवर्तन गर्ने व्यवस्था गरेको बताइएको छ ।

    संवैधानिक परिषद् अध्यादेशलाई पनि संवैधानिक निकायमा नियुक्ति प्रक्रिया सहज बनाउन ल्याइएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद छलेर अध्यादेशमार्फत शासन चलाउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको आरोप लगाएको छ ।

    सरकार भने यस विषयमा औपचारिक रूपमा स्पष्ट प्रतिक्रिया दिन तयार देखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images