images
images
  • बालेन सरकार : सुविधा सम्पन्न देशमा जान रोक, इरानी आक्रमणको दयरामा परेका राष्ट्रमा पठाउन मरिहत्ते

    काठमाडौं– नयाँ सरकार गठन भएको एक महिना बितिसक्दा पनि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घट्न सकेको छैन ।

    पछिल्लो एक महिनामा मात्र ६२ हजार २ सय ६५ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेको ११ चैत २०८२ देखि १३ वैशाख २०८३ सम्मको अवधिमा उक्त संख्या विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

    त्यस अवधिमा ५५ हजार २ सय ७२ पुरुष र ६ हजार ९ सय ९३ महिला वैदेशिक रोजगारीमा गएका छन् । सामान्यतः मासिक ६० देखि ६५ हजार नेपाली श्रमका लागि विदेशिने प्रवृत्ति कायमै रहेको देखिन्छ ।

    पछिल्लो समयमा पश्चिम एसियामा देखिएको युद्धका कारण १७ फागुन २०८२ देखि ७ वैशाख २०८३ सम्म केही देशहरूमा श्रम स्वीकृति बन्द हुँदा पनि वैदेशिक रोजगारीको प्रवाहमा उल्लेख्य कमी आएको छैन । सो अवधिमा खाडी तथा पश्चिम एसियाका १२ देशमा नेपाली श्रमिक जान पाएका थिएनन् ।

    सरकार परिवर्तनपछि ‘सुशासन र सुधार’ को नारा दिइए पनि वैदेशिक रोजगारीमा निर्भरता घट्ने संकेत नदेखिएको विश्लेषण छ । चालु आर्थिक वर्ष २०८२–८३ चैतसम्म ५ लाख ८७ हजार ३ सय ३२ नेपालीले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

    फागुनमा ५२ हजार ९ सय ४४ र चैतमा ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति लिएको तथ्यांकले पनि प्रवृत्ति उस्तै रहेको देखाउँछ । नयाँ सरकार आएपछि दैनिक औसत २ हजार ७५ जना विदेशिने गरेका छन्, जुन अघिल्लो वर्षको औसतसँग लगभग समान हो ।

    श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार सरकारले प्रचारात्मक पहल देखाए पनि वैदेशिक रोजगारी घटाउने ठोस नीति र प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अवस्था छ । उनका अनुसार विदेशिने बाध्यतालाई घटाउनेभन्दा पनि व्यवस्थापनतर्फ मात्र ध्यान दिइएको देखिन्छ ।

    सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र वैदेशिक निर्भरता घटाउने प्रतिबद्धता जनाए पनि त्यसको प्रभाव तत्काल देखिन नसकेको विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images